2077-04-22
2077-04-22
२२ साउन, काठमाडौं । शुक्रबार ललितपुरका पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भयो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले संक्रमितको विवरण पठाएपछि स्वास्थ्य कार्यालय, ललितपुरले उनीहरुको खोजी थाल्यो ।
संक्रमितमध्ये २२ वर्षका पुरुष त भारतको विहारबाट थानकोट नाका हुँदै ललितपुर आएका रहेछन् । ज्याला मजदुरी गर्न भारतबाट आएर उनले १४ गते थानकोट नाकामा स्वाब दिएका थिए ।
उनी जस्तै भारत र कोरोना संक्रमण फैलिएको जिल्लाहरुबाट आएका धेरै संक्रमित काठमाडौं उपत्यका आइपुगेको ईडीसीडीका निर्देशक वासुदेव पाण्डे बताउँछन् । उनकाअनुसार लकडाउन खुकुलो भएपछि उपत्यकामा भेटिएका कोराना संक्रमितमध्ये धेरै बाहिरी जिल्लाबाट आएकाहरु छन् ।
‘तथ्याकंहरु हेर्दा अझै पनि उपत्यकाको समुदायमा संक्रमण फैलिइसकेको भन्न मिल्दैन, तर उपत्यका बाहिरबाट आएकाहरुको नियन्त्रण गर्न सकिएन भने काठमाडौंको अवस्था वीरगञ्जको भन्दा फरक रहन्न,’ डाक्टर पाण्डे भन्छन्, ‘त्यो अवस्था आयो भने यति धेरै जनघनत्व भएको उपत्यकामा क्षति धेरै हुनसक्छ ।’
वीरगञ्जमा साउनयता १३ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ५०० नाघेको छ । र, समुदायमा संक्रमण फैलिँदो छ । बुधबार मात्र दुई जनाको मृत्यु भएको छ भने १५१ जनामा संक्रमण पुष्टि भएको छ । कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंह भन्छन्, ‘अस्पताल, जनशक्ति, आइसोलेसन तथा आईसीयू बेड सबै नपुग्ने अवस्था आइसक्यो ।’
काठमाडौं उपत्यकामा पनि वीरगञ्जकै अवस्था दोहोरिनसक्ने ईडीसीडीका निर्देशक डाक्टर पाण्डे बताउँछन् । ‘वीरगञ्जमा भारतबाट लुकिछिपी आउनेहरुका कारण संक्रमणले भयावहको रुप लियो । उपत्यकामा पनि भारत तथा तराईका जिल्लाहरुबाट आएकाहरुबाट संक्रमण फैलिँदैछ,’ डाक्टर पाण्डे भन्छन्, ‘नाकामा कडाइ नगर्ने हो भने उपत्यकालाई अर्को वीरगञ्ज बन्न कसैले रोक्न सक्दैन ।’
डाक्टर पाण्डेले भनेझै लकडाउन खुकुलो भएपछि उपत्यका प्रवेश गर्नेहरुमा संक्रमण भेटिएको छ ।
ललितपुरमा अहिलेसम्म ११६ जना कोरोना संक्रमित भेटिएका छन् । २६ असारमा लकडाउन खुकुलो भएदेखि मंगलबारसम्म ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये १७ जना भारतबाट तथा संक्रमण फैलिएका अन्य जिल्लाहरुबाट आएका छन् । ‘यो परीक्षण गरेर भेटिएका संक्रमित हुन्, लुकिछिपी दैनिक आउने धेरैमा संक्रमण हुनसक्छ, तर परीक्षण नगरिएकाले भेटिएको छैन,’ डाक्टर पाण्डे भन्छन्, ‘त्यसैले यो समय उपत्यकावासी निकै सचेत हुनुपर्ने समय हो ।’
ललितपुरको जस्तै अवस्था काठमाडौं र भक्तपुर जिल्लामा पनि रहेको उनले सुनाए ।
जनस्वास्थ्य कार्यालय, ललितपुरका अनुसार हालसम्म भेटिएका ११६ संक्रमितमध्ये ३ जनाको मृत्यु भयो । अहिले २७ जना संक्रिय संक्रमित रहेको ललितपुरमा ८६ जना कोरोना मुक्त भइसके । ९ जना संक्रमित होम आइसोलेसनमा छन् ।
कार्यालयका ल्याब टेक्निसियन उपेन्द्र अर्यालका अनुसार लक्षणविहीन संक्रमितलाई उनीहरुकै इच्छाअनुसार होम आइसोलेसनमा राखिएको हो । ‘संक्रमण पुष्टि भएपछि हामी फोन गरेर लक्षण भए/नभएको सोध्छौं,’ अर्यालले भने, ‘लक्षण छैन र होम आइसोलेसनमा बस्ने व्यवस्था छ भने अनुमति दिन्छौं ।’
ललितपुरमा हालसम्म लक्षण भएका संक्रमित १९ जना छन् भने ट्राभल हिस्ट्री भएका ३७ जना ।
ललितपुरको तीन रणनीति
लकडाउन खुकुलो भएपछि भेटिएका अधिकांश संक्रमित पर्सा, सर्लाही, रौतहट र भारतबाट आएकाहरु रहेको जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलाल बताउँछन् । उनकाअनुसार स्थानीय संक्रमण देखिएको छैन ।
‘एक–दुई ठाउँमा लोकल ट्रान्समिसनको केही संकेत मिलेको थियो, तर तथ्यांकले त्यस्तो देखाएन,’ डाक्टर गेलाल भन्छन्, ‘सीमा नाकामा कडाइ र संक्रमण फैलिएको जिल्लाहरुबाट आउनेहरुलाई व्यवस्थित रुपमा क्वारेन्टिन गर्न सक्ने हो भने उपत्यकालाई संक्रमणबाट जोगाउन सकिने रहेछ ।’
तर अहिले जस्तै सहजै आउजाउ गर्न दिने हो भने स्थानीयमा संक्रमण सर्न धेरै समय लाग्दैन । डा. गेलाल भन्छन्, ‘कोरोनाको जोखिम बढेको बेला मानिसहरमा भने डर कम भएको छ, यसले झन् जोखिम निम्त्याउने खतरा देख्दैछु ।’
ललितपुरमा तीन रणनीति
डा. गेलालका अनुसार ललितपुरमा महामारी नियन्त्रणका लागि तीन रणनीति अघि सारेर काम भइरहेको छ ।
पहिलो : जोखिम समूहमा रहेका दीर्घरोगी तथा कोरोना संक्रमणको लक्षण देखिएकालाई खोजीखोजी परीक्षण गर्ने ।
दोस्रो : सार्वजनिक यातायात तथा भीडभाड हुने स्थानहरुमा निरीक्षण गर्ने र जनस्वास्थ्यका मापदण्डहरु पालना नगर्नेलाई कारबाही गर्ने
तेस्रो : उपत्यका बाहिरबाट आएकालाई कडाइका साथ होम क्वारेन्टिनमा बस्न निर्देशन दिने ।
‘उपत्यकामा भयावह अवस्था आउन नदिन केही दिन काठमाडौं छिर्ने नाका बन्द गर्नुपर्ने हो । त्यसो नगरे कम्तिमा संक्रमण फैलिएको क्षेत्रबाट आएकाहरुलाई क्वारेन्टिनमा अनिवार्य राख्नुपर्छ,’ डाक्टर गेलाल भन्छन्, ‘त्यो काम हामीबाट सम्भव नहुने भएकाले हामीले सक्ने रणनीति बनाएर काम गरिरहेका छौं ।’
सरकारले काठमाडौं छिर्ने नाकाहरुमा कडाइ गर्न ढिलो गर्न नहुने बताउँदै उनी भन्छन्, ‘काठमाडौं उपत्यकामा संक्रमणको भविश्य नाकाहरुको गतिविधिले निर्धारण गर्छ ।’
डाक्टर गेलालको तर्कमा जनस्वास्थ्यविज्ञ डाक्टर समिरमणि दीक्षित पनि सहमत छन् । उपत्यकाको संक्रमणको रफ्तार रोक्न नाकाहरुमा कडाइ गर्नुपर्ने उनी बताउँछन् । ‘संक्रमित क्षेत्रबाट आउने मानिसहरुलाई नाकामै व्यवस्थापन गर्न सकियो भने उपत्यकाको संक्रमण नियन्त्रण गर्न सकिन्छ,’ डाक्टर दीक्षित भन्छन्, ‘मंगलबार प्रधानमन्त्रीसँग भएको छलफलमा पनि हामीले उपत्यकाको संक्रमणको रफ्तार रोक्न नाकामा कडाइ गर्न सुझाव दिएका छौं ।’
जनस्वास्थ्य विज्ञ डाक्टर शरद वन्त पनि सीमा नाकाबाट आउनेहरुलाई केही दिन व्यवस्थापन गर्न सके कोरोनाको महामारी नियन्त्रण गर्न सकिने बताउँछन् । साथै संक्रमण फैलिएको जिल्लाबाट आउनेहरुलाई परीक्षण गरेर संक्रमितलाई आइसोलेट नगरे काठमाडौं उपत्यकामा संक्रमण फैलिन सक्छ ।
‘संक्रमण फैलिएको क्षेत्रबाट आएकामध्ये एक जनालाई संक्रमण रहेछ र त्यो मानिस सार्वजनिक यायायात चढ्यो भने धेरैमा संक्रमण सर्न सक्छ,’ डाक्टर वन्त भन्छन्, ‘त्यसैले केही दिन नाकाबाट आउनेहरुलाई व्यवस्थापन गर्नुपर्छ भनेको हो ।’
डाक्टर वन्तको विचारसँग संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी पनि सहमत छन् । परीक्षणको दायरा साँघुरो रहेको र कन्ट्याक ट्रेसिङ पनि कमजोर भएको भन्दै उनले संक्रमण फैलिएको क्षेत्रबाट आएकाहरुलाई रोक्न नसके उपत्यकामा संक्रमण बढ्ने बताउँछन् ।
‘समय घर्किसक्दा पनि महामारी नियन्त्रण गर्न तयारी पुगेको छैन, उपत्यका झन् दिनानुदिन जोखिममा पर्दैछ,’ डाक्टर सुवेदी भन्छन्, ‘अबको उपाय भनेको जनस्वास्थ्यका मापदण्ड पालना गर्ने र उपत्यका छिर्ने नाका कडा गर्ने हो ।’
कन्ट्याक ट्रेसिङको सकस उस्तै
कोरोना संक्रमण पुष्टि भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयलाई तथ्यांक उपलब्ध गराउँछ । कार्यालयले स्थानीय तहमा रहेका कन्ट्याक ट्रेसिङ गर्ने टिमलाई खटाउँछ ।
महानगरपालिकामा ५, उपमहानरमा ३, नगरमा २ र गाउँपालिकामा एउटा टिम रहन्छ । टिममा तीन सदस्य (जनस्वास्थ्य अधिकृत, पारामेडिक्स वा नर्स र प्रयोगशालाकर्मी) हुन्छन् ।
यति सानो टिमले कन्ट्याक ट्रेसिङ गर्न गाह्रो भएको डा. गेलाल बताउँछन् । ‘संक्रमितले फोन नउठाउने, बसोबास स्थान ढाट्ने गरेका छन्,’ डाक्टर गेलाल भन्छन्, ‘तर अहिलेसम्म हामी कहाँ कोही पनि संक्रमित सम्पर्कविहीन भने छैनन् ।’
गोदावरी नगरपालिकाको कन्ट्याक ट्रेसिङ टिमका संयोजक रेवतीराज कार्की पनि संक्रमित बढेको अवस्थामा जनशक्ति र स्रोतसाधनको अभाव हुने बताउँछन् । उनका अनुसार एकजना संक्रमित भेटिँदा उनको सम्पर्कमा आएका २०÷२५ जनासम्मको अन्तरवार्ता लिनुपर्छ र प्रत्येकको लामो फर्म अपडेट गर्नुपर्छ ।
‘हामीसँग प्रविधिको ज्ञानमा कमी भएर होला, डाटा म्यानेजमेण्टमा समस्या परेको छ,’ कार्कीले भने, ‘संक्रमित योभन्दा बढे भने हामी कन्ट्याक ट्रेसिङ गर्न सक्दैनौं ।’
© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, गोरखा
Powered By: ProActive Developers